📢 आदरणीय अभिभावकज्यू,
विद्यालयमा गरिएको नियमित कक्षागत अवलोकनका क्रममा तपाईंको बाबु/नानीको नेपाली भाषा पढ्ने तथा बुझ्ने क्षमतामा थप अभ्यास र सहयोग आवश्यक रहेको पाइएको छ। यस अवस्थामा घरमा दैनिक कम्तीमा ३० मिनेट समय छुट्याई नियमित रूपमा पढ्ने/पढाउने वातावरण सिर्जना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
बालबालिकाको नेपाली भाषा सिकाइमा थप सहयोग पुग्ने गरी कृपया निम्न कुराहरूमा विशेष ध्यान दिनुहुन अनुरोध छः
१. दैनिक कम्तीमा ३० मिनेट पढाइका लागि समय उपलब्ध गराइदिनुहोस्।
२. बालबालिकाको उमेर तथा रुचिअनुसारका अतिरिक्त नेपाली पुस्तकहरू पढ्न प्रोत्साहित गर्नुहोस्। पढिसकेपछि पुस्तक हेरेर वा नहेरी पढेका कुरा आफ्नै शब्दमा भन्न लगाउनुहोस्।
३. बालबालिकाको पढाइमा भएको प्रगति वा देखिएका कठिनाइहरूबारे सम्बन्धित शिक्षक वा प्रधानाध्यापकज्यूलाई समय–समयमा जानकारी गराइदिनुहोस्।
४. बालबालिकाको नेपाली पढाइप्रति नियमित रूपमा चासो र निगरानी राखिदिनुहोस्।
५. बालबालिकाले राम्रो प्रयास वा प्रगति गरेको अवस्थामा प्रशंसा तथा प्रोत्साहन प्रदान गर्नुहोस्, जसले उनीहरूको आत्मविश्वास बढाउन सहयोग गर्नेछ।
६. विद्यालयबाट प्राप्त सूचना तथा गृहकार्यसम्बन्धी जानकारीका लागि विद्यालयको App नियमित रूपमा Active/Check गरिरहनुहोस्।
७. दैनिक Diary जाँच गरी गृहकार्य पूरा भए/नभएको सुनिश्चित गर्नुका साथै आवश्यक स्थानमा हस्ताक्षर गरिदिएर मात्र बालबालिकालाई विद्यालय पठाइदिनुहोस्।
आदरणीय अभिभावकज्यू, तपाईंको थोरै समय, निरन्तर चासो र प्रोत्साहनले बालबालिकाको सिकाइमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ। विद्यालय र अभिभावकबीचको निरन्तर सहकार्यबाट नै हाम्रा बालबालिकाको शैक्षिक प्रगति अझ प्रभावकारी बनाउन सकिन्छ।
यस विषयमा यहाँहरूको सहयोग, सद्भाव र निरन्तर सहकार्यका लागि हार्दिक धन्यवाद।
सादर,
विद्यालय प्रशासन